Categories: Discourse

‘एक्काइसौँ शताब्दी’ : मताग्रही अवधारणा कि वस्तुगत संज्ञा

– निर्मलमणि अधिकारी ‘आयोदधौम्य’
धेरै नै प्रयोग गरिने शब्दावली हो यो ‘एक्काइसौँ शताब्दी’ । लेखाइ र बोलाइ दुवैमा ‘एक्काइसौँ शताब्दी’ को दुहाइ दिने क्रम बढ्दो छ । तर, हाम्रो देशमा जसरी ‘आधुनिक’ (Modern), ‘आधुनिकतावाद’ (Modernism), ‘उत्तर आधुनिकतावाद’ (Postmodernism), वैश्विकरण (Globalization) आदि अवधारणाहरूलाई तिनको अर्थ नबुझेरै सर्न्दर्भबिना प्रयोग गरेको देखिन्छ त्यसरी नै ‘एक्काइसौ शताब्दी’ लाई पनि नबुझेरै बोल्ने/लेख्ने गरेको देखिन्छ ।

मोडर्न

, मोडर्निज्म, पोस्टमोडर्निज्म, ग्लोबलाइजेसन आदि वस्तुगत संज्ञा होइनन्, यी त मताग्रही अवधारणा हुन् र ‘एक्काइसौँ शताब्दी’ पनि त्यस्तै हो । यी सबै अवधारणाहरू युरोपकेन्द्रित भनिने ज्ञानपद्धतिबाट निःसृत हुन् ।

‘शताब्दी’ मात्रै भनियो भने यो शब्दले सामान्यतया एक सय वर्षको समयावधि भन्ने अर्थ दिन्छ र कुनै सिद्धान्त, वाद, दृष्टिकोण वा मताग्रहलाई जनाउँदैन । तर जब ‘शताब्दी’ को अगाडि ‘एक्काइसौँ’ भनी विशेषण लगाइनासाथ यसले वस्तुगत आधार गुमाउँछ । अर्थात्, ‘एक्काइसौँ शताब्दी’ भन्ने अवधारणा जहिले पनि सिद्धान्त, वाद, दृष्टिकोण वा मताग्रह सहित आउँछ । युरोपकेन्द्रित (Eurocentric) भनिने ज्ञानपद्धतिले आफ्नो सभ्यता’, ‘संस्कृति’, जीवनशैली आदिलाई विश्वको र्सवश्रेष्ठ सभ्यता, र्सवश्रेष्ठ संस्कृति, र्सवश्रेष्ठ जीवनशैलीका रूपमा परिभाषित गर्ने प्रयत्नस्वरूप अनेक मताग्रही अवधारणाहरूलाई परिबर्द्धन गरेको छ । त्यही बृहद्रणनीतिकै एक अंशका रूपमा ‘एक्काइसौँ शताब्दी’ भनिने अवधारणालाई पनि परिबर्द्धन गरिएको हो।
अहिले समयलाई ‘एक्काइसौँ शताब्दी’ भन्ने आधार के हो ? मानव सृष्टि भएको बल्ल एक्काइसौँ शताब्दी लागेको पनि होइन र हाम्रातिर कुनै विशेष घटना भएको दुई हजार वर्ष पुगेको पनि होइन । पश्चिमा इसाइहरूले उनीहरूका आस्थाका कारण जीसस क्राइस्टको जन्मलाई मानवसमाजको इतिहासमै सबैभन्दा महत्वपूर्ण घटना मानी इश्वी संवतलाई प्रचलनमा ल्याएको र त्यसरी गणना गर्दा अहिलेको समयलाई एक्काइसौँ शताब्दी’ भनेको हो । विश्वमा यस्ता धेरै संवत्‌हरू छन् । ती विभिन्न संवत्‌का मापदण्डमा हेर्ने हो भने वर्तमान समयलाई विभिन्न संज्ञा दिइएको पाइन्छ । विक्रम संवत्‌लाई आधार मानेर संज्ञा दिने हो भने इश्वी संवत् माने भन्दा करिब ५७ वर्षअगाडि नै एक्काइसौँ शताब्दी लागेको हो । बुद्ध संवत् लाई आधार मानेर संज्ञा दिने हो भने अहिले त्यो एक्काइसौँ शताब्दी बितेकै कैयौँ शताब्दी भइसकेछ । हिन्दू विश्वासका चारवटा युगका आधारमा संज्ञा दिने हो भने कलियुगको पाँच हजार वर्षभन्दा बढी समय बितिसकेको छ । यस्तो पृष्ठभूमिमा समकालीन युगलाई ‘एक्काइसौँ शताब्दी’ भनियो भने युरोपकेन्द्रित (Eurocentric) भनिने ज्ञानपद्धतिद्वारा प्रबर्द्धित मताग्रहलाई नै अंगीकार गरेको ठहर्छ।
कतिपयले यसको पछाडि रहेको मताग्रह थाहा नपाएका हुन सक्छन् भने कतिपयले थाहा पाएरै पनि एक्काइसौँ शताब्दी’ को मताग्रही अवधारणाको पक्ष लिएका पनि हुन सक्छन् । जे जसरी गरिएको होस्, यदि कसैले समकालीन युगलाई ‘एक्काइसौ शताब्दी’ भन्छ भने वास्तवमा उसले सांस्कृतिक विस्तारवाद एवम सांस्कृतिक उपनिवेशवादलाई स्वीकार गरेको हुन्छ ।
इश्वी संवत्‌को प्रचलनलाई पहिले इसाइ मिसनरीहरूले फैलाएका थिए । पछि जब युरोपमा ज्ञानोद्दीपन युग (The Enlightenment), आधुनिक युग (The Modern Period) भनियो, त्यतिखेर अनेक क्षेत्रमा इसाइ मान्यताहरूलाई आलोचना, आक्रमण, विस्थापन गरिएको भए तापनि इश्वी संवत्‌लाई भने यथावत् प्रचलनमा राखे । त्यसो गरिएको व्यावहारिक सजिलोलाई ख्याल राखेर हो वा अरु पनि केही कारण थियो भन्नेमा अनेक तर्क गर्न सकिन्छ । कम्तीमा कतिचाहिँ प्रष्ट छ भने युरोपमा औद्योगिक क्रान्तिले निम्त्याएको औपनिवेशिक विस्तारवादले इश्वी संवत्‌लाई थप परिबर्द्धन गर्यो । दोस्रो विश्वयुद्धपश्चात् संयुक्त राष्ट्रसंघ, विश्व ब्याङ्क तथा अन्तराष्ट्रिय मुद्रा कोष आदि संस्थाहरूको स्थापना एवम् क्रियाशीलताले इश्वी संवत्‌को प्रचलनलाई संसारका सबैदेशसम्म शनैः शनैः विस्तार गरेको देखिन्छ। वैश्विकरण (Globalization) भनिने प्रक्रियासँगै इश्वी संवत्‌ले वैश्विक विस्तारको दौडमा नयाँ उचाइ हासिल गरिरहेको अवस्था छ । नेपालमा पनि इश्वी संवत्‌लाई नै सरकारी कामकाजको संवत् बनाउने माग कतिपयले उरालेको उदाहरणले पनि धेरै कुरा प्रष्टिन्छ । ‍
‘एक्काइसौँ शताब्दी’ भन्नु अहिले एक किसिमको ‘फेसन’ नै भइराख्या छ। तर हामी नेपालीको कुनै साइनोसम्म पनि छैन कथित एक्काइसौँ शताब्दीसँग । इस्वी संवत् चलेको पो ‘एक्काइसौँ शताब्दी’; हाम्रो सर्न्दर्भमा अहिले समयलाई त्यस्तो संज्ञा दिनु त बुझ न सुझसँग होहोरीमा दौडने कार्य मात्र हो । कुरोको चुरो बुझ्ने हो भने अहिलेको समयलाई जनाउने वस्तुगत संज्ञाका रूपमा ‘समकालीन युग’, ‘वर्तमान युग’ आदि प्रयोग गर्न सकिन्छ ।
‘एक्काइसौँ शताब्दी’ लाई बुझेर वा नबुझेर मताग्रही अवधारणाका रूपमा स्वीकार गर्नेहरूले यसलाई आफ्नो विशेष हतियारका रूपमा प्रयोग गरिरहेका हुन्छन् । मताग्रही अवधारणा (Ideological concept) को विशेषता नै यही हो कि यसले आफ्ना मतानुयायीका पक्षमा र अर्को मतको विपक्षमा निश्चित मान्यता, सिद्धान्त वा वादलाई अगाडि बढाउँछ । जस्तै: धार्मिक एवं सांस्कृतिक क्षेत्रमा काम गर्ने अभियन्ताहरूलाई “एक्काइसौँ शताब्दीमा पनि धर्म र संस्कृतिको कुरा गर्ने हो -” भनेर बारम्बार प्रश्न तेर्स्याइन्छ । यसरी तेर्स्याइने प्रश्नमा एक्काइसौँ शताब्दी’ भन्ने कुरालाई धर्म एवं संस्कृतिका विरुद्धमा हतियारका रूपमा प्रयोग गरिएको हुन्छ। तपाईँ नै धार्मिक एवं सांस्कृतिक मान्यतामा आस्था राख्नु हुन्छ र तपाईँलाई अर्को धार्मिक, सांस्कृतिक वा राजनीतिक मान्यता राख्नेहरूले यसरी नै ‘एक्काइसौँ शताब्दी’को हतियार प्रयोग गरेर आक्रमण गर्ने गरेका छन् भने तपाईँ आत्तिनु पर्दैन । त्यस्ता व्यक्तिहरूले आफ्नो मतानुसारको तर्क गरेका मात्र हुन् । तपाईँ उसको मतको आधारबिन्दुमाथि नै प्रश्न गर्नु होस् र ‘एक्काइसौँ शताब्दी’ भन्ने अवधारणा/संज्ञालाई नै कठघरामा उभ्याइदिनुहोस् । तब उनीहरूको हतियार निरर्थक भइहाल्ने छ।
समय रेखीय (Linear) हुँदैन र निरपेक्ष पनि हुँदैन । समय भनेको त्यो ट्याक्सीजस्तो होइन जुन अघि पोखरामा थियो र अहिले काठमाडौँ आइपुगेको छ । समयलाई कसरी परिभाषा गर्ने भन्ने कुरा अनेक पक्षहरूसँग सम्बद्ध हुन्छ । त्यसैले हामी ‘एक्काइसौँ शताब्दी’ भन्ने अवधारणा/संज्ञालाई अस्वीकार गर्छौँ र हामीसँग ‘समकालीनयुग’, र ‘वर्तमान युग’ भन्ने अवधारणा/संज्ञाहरू छन् । यसको अर्थ के हो भने हामी समाज निरन्तर परिवर्तनशील हुन्छ र हुनु पर्छ भन्ने प्राकृतिक नियमलाई स्वीकार गर्दै विकासको रेखीय अवधारणालाई भने अस्वीकार गर्र्छौँ । त्यसैले त हामी अधुनातम प्रविधि र प्राचीनतम ज्ञानलाई एकैसाथ अंगीकार गर्न हिच्किचाउँदैनौँ। हामीसँग भएको ‘किन्डल’ मा वेद–उपनिषद्का डिजिटल पुस्तक होऊन् भने मोबाइलको सीआरबीटीमा संस्कृतका श्लोक पनि समेटिऊन् ।
nirmalam.adhikary@gmail.com

Originally published in: Student’s Concept magazine

Recent Posts

An Open Letter to My Grade IX Students

- Himal KC Dear students, Today, I am writing to express my joy, satisfaction, and… Read More

4 years ago

Making Students Work Smart: My Signature Pedagogy

-  Anouska Poudel In my one year of teaching English literature to children in grade… Read More

4 years ago

How I Developed My Signature Pedagogy

- Ramita Deuja I was really fascinated when I heard the phrase 'my signature pedagogy'… Read More

4 years ago

Two Different Critiques

This post presents two pieces of critical reading of a single text, a short unpublished… Read More

4 years ago

My Learning Experiences at KUSOED

- Khem Raj Bhatta Excellent counseling services, quick and responsive staff, and dedicated and cooperative… Read More

4 years ago

The So-Called First Batch Tag

- Indira Fuyal Reminiscing about the day I went to Kathmandu University in August 2014… Read More

6 years ago

This website uses cookies.