भौतिक विज्ञानले दृष्टिकोणलाई गौण मानी दृष्यमा विश्वास गर्नुपर्छ भन्ला, प्रवृत्तिलाईभन्दा पात्रलाई मुख्य ठान्ला। तर ज्ञानको सिर्जना र सम्प्रेषण गर्ने थलोमा दृष्टिकोण र प्रवृत्ति दुवैको अहम् मूल्य हुन्छ। दृष्य र पात्रहरू महत्वपूर्ण साधनहरू हुन्। तर ती स्वाभावत: नाशिने वा विश्थापित हुने हुनाले समाज बिकासका प्रमुख मार्गदर्शक बन्दैनन्। ज्ञान, दृष्टिकोण र प्रवृत्ति समयानुसार संसोधित हुँदै लगातार प्रसारित हुने हुँदा मानवको प्रत्येक नयाँ पुस्ताले यीबाट निर्देशित हुन पाउँछ।
असल मानिसहरू चुपचाप ओझेलमा सिर्जनाका कामहरू गरिरहेको बेला खराब पात्रहरूको मात्र चर्चा समाजले गरेको पाइन्छ । खराबीको चर्चामा समय फालेको समूहले सिर्जनालाई ढिलो देख्छ, र प्रत्यक्ष भौतिक फाइदा वा हानीको महसुस नहुन्जेलसम्म त्यसको महत्व पनि बुझ्दैन। आम मानिसको दैनिकी महामानवहरूको संगतमा चलेको हुँदैन, न त हरेक मानिसमा शिखरमा पुग्ने महत्वाकाङ्क्षा नै हुन्छ। समाजलाई थेग्ने पात्रहरू सामान्य जीवन बाँच्छन्। असल मानिसहरूले आफ्नो विवेकले ठिक देखेको काम निरन्तर गरिरहने हुनाले समाज बस्नलायक रहन्छ। रचनात्मक काम केही नगर्ने, गर्न नसक्ने वा गर्नै नचाहनेहरूको पनि कमी छैन। चाहने र सक्नेले नचाहने र नसक्नेलाई पनि हतेर्दै लिएर हिँड्नु पर्ने वाध्यता प्रगतिको वाधक भएता पनि समाजले यसलाई आत्मसात गरेको हुन्छ।
हामीले सकारात्मक दृष्टिकोणले समाजमा राम्रा मान्यताहरू स्थापित हुने र नकारात्मक प्रवृत्तिले स्थापित मान्यताहरूको विनाश गर्ने कुरामा सचेत भई आफ्नो सिर्जनशील बाटो तय गरेका छौँ। हामी ठान्छौँ, सचेत मानिसहरूको ठूलो जमात यो देशमा कहीँ न कहीँ अल्मलिएको छ, रचनात्मक दायीत्वबाट जानी जानी विमुख भएको छ। लाग्छ, जिम्मेवारीले चुनौती दिन, र विवेकले घचघच्याउन छाडिसक्यो। कामना गरौँ रछ्यान मिल्काउँदैमा समय खेर नजाओस्। अनुत्पादक भिड बढ्दै जाँदा हुने असुरक्षाप्रति हामी सबै सजग रहनुपर्छ।