April 10, 2021

Interdisciplinary Discourse

Forum for KU Academics

सन्दर्भ प्रेसधर्मको

– मुकुन्दप्रसाद उपाध्याय
नेपालमा प्रेसको विकास भएको धेरै भएको छैन। छ दशकपूर्व पहिलो जनक्रान्तिअघिसम्म नेपालीले बुझेका र जानेका अखबार भनेको गोरखापत्रर पत्रिका भनेको शारदामात्र थियो। २००७ देखि २०१७ सालका बीचमा गैरसरकारी अखबार र पत्रिकाहरू देखापर्न थाले।  रेडियो नेपालको स्थापना भयो। २०१७ सालपछि पुनः प्रेसमाथि नियन्त्रणको नीतिका कारण व्यावसायिक पत्रकारिता फस्टाएन। केही साहित्यिक पत्रिकाहरू भने स्थापित भए। मधुपर्क’, ‘गरिमा’, ‘रूपरेखाआदि पत्रिकाहरू स्तरीय पत्रिकाका रूपमा फस्टाउँदै गए। यस कालखण्डमा मोफसलबाट पनि पत्रपत्रिकाहरू निस्कन थाले भने पहिलो टेलिभिजनका रूपमा राज्यनियन्त्रित नेपाल टेलिभिजनको वर्चश्व रह्यो।

 नेपालको पत्रकारिता जगतले फड्को मारेको चाहिँ २०४६ सालको पहिलो जनआन्दोलनपछि मात्र हो। संविधानले नै प्रेसस्वतन्त्रतालाई स्थान दिएपछि स्वतन्त्र, निष्पक्ष र व्यावसायिक पत्रकारिताको थालनी भयो।  पत्रकारिताशब्दलाई साँघुरो महसुस गरी प्रेसजगत् वा मिडिया भन्न थालियो। टीभी, एफएम र इन्टरनेटका कारण प्रेसलाई मिडिया भन्न थालिएको थियो। गैरसरकारी क्षेत्रमा कान्तिपुरजस्ता दैनिक अखबारहरू र एफएम रेडियोहरूबाट अनेक समाचारहरू छापा र अनलाइनमा समेत देखिन थाले। प्रेससँग सम्बन्धित काउन्सिल र सङ्घसङ्गठनहरू पनि देखिन थाले।
 
यति हुँदाहुँदै पनि २०६२६३ सालको आन्दोलनअघिसम्म समग्र मिडियामा सरकारी नियन्त्रणै त नभनूँ, तर सरकारी छाया भने रहेको थियो। त्यसैले दलका नेताहरू मन्त्रालयको बाँडफाँडमा सञ्चार मन्त्रालय लिन बढी नै हानाथाप गर्दथे, जुन क्रम २०६२६३ सालपछिचाहिँ अलि घटेको छ। पछिल्लो दशकमा आएर देशमा पत्रकारिता र मिडिया विषयको पढाइ हुन थाल्यो अनि विदेशबाट यस्ता विषयमा स्नातक र स्नातकोत्तर गरेका व्यक्तिहरू प्रेस र मिडियामा संलग्न हुन थाले। एकताका त कतै नबिकेका र धेरै नपढेका मान्छेहरू कि पत्रकार हुन्थे कि राजनीतिक कार्यकर्ता। तर आजको स्थिति त्यस्तो छैन। आज व्यावसायिक पत्रकारहरूकै बाहुल्य छ।

 वर्तमान नेपाली प्रेस पूर्णरूपेण स्वतन्त्र, निष्पक्ष र व्यावसायिक भने अझै भइसकेको छैन। सम्पूर्ण प्रेसहरू दलीय भागबन्डाको एउटाएउटा कित्तामा कित्ताकाट गरेर बसेका छन्। जुनसुकै दैनिक वा साप्ताहिक खबरपत्रिकाको पहिलो पृष्ठका दुईचार हरफ पढ्नासाथ यो पत्रिका यो दलको निकट रहेछ भन्ने कुरा थाहा भइहाल्छ। यही कारणले कुनै घटनाको समाचार छापिँदा तत्काल रूपपक्षको मात्र व्याख्या हुन्छ, ‘सारलाई कि त वास्ता गरिँदैन कि त लुकाइएको हुन्छ। अनि भोलिपल्ट या पर्सिपल्ट पीडित पक्ष वा पीडक पक्षका पत्रिकाहरूले सारपक्षको चर्चा गर्न थाल्दछन्। कहिलेकाहीँचाहिँ आग्रह र पूर्वाग्रह नराखे पनि खबरलाई सनसनीपूर्ण बनाउन वा रसमय र चासोमय बनाउनका लागि त्यसो गरिन्छ। प्रायः यही कारणले होला नेपालका प्रायः सबै अखबारहरूले नकारात्मक समाचारहरूलाई मात्र स्थान दिन्छन्, सकारात्मक समाचारहरू कि त दिँदै दिँदैनन्, दिइहाले पनि भित्री पृष्ठको कुनै उपेक्षित स्थानमा २४ वाक्यमा दिन्छन्। यस विषयमा कुरा चलाउँदा पत्रकार साथीहरू भन्ने गर्छन् — ‘हाम्रो धर्म नै यस्तै हो मित्र ! कुकुरले मान्छे टोकेको कुरा समाचार बन्दैन, तर मान्छेले कुकुर टोक्यो भनेचाहिँ ठूलो समाचार हुन्छ।सहरमा दिनका दिन राम्रा र सुन्दर महलहरू बनिरहेका हुन्छन्, त्यो समाचार बन्दैन। तर आक्कलझुक्कल कुनै घर भत्कियो वा आगलागी भयो भनेचाहिँ त्यो समाचार बन्छ। सायद पत्रकारिताको यस्तैयस्तै धर्मका कारण हाम्रो समाजमा नयाँ उखान बनेको छ। त्यो के हो भने प्रहरी र पत्रकारलाई धेरै नजिक पनि राख्नु हुँदैन र धेरै टाढा पनि राख्नु हुँदैन।

पत्रकारहरूको व्यावसायिक कर्म जेसुकै भए पनि र मार्केटिङ शैली जस्तोसुकै भए पनि केही आधारभूत धर्म पनि हुनुपर्छ। जस्तै: कुनै पनि प्रेसले राष्ट्रियता, राष्ट्रिय अखण्डता, लोकतन्त्र र मानवताका विरुद्धचाहिँ कलम चलाउनु हुँदैन। व्यक्तिगत शत्रुता साध्ने, अर्काको चरित्रहत्या गर्ने, विज्ञापन नदिएको झोक पोख्ने, थैला, झोल र भोजबाट प्रभावित हुने आदिचाहिँ सामान्य विसङ्गतिहरू मात्र हुन्, जुन क्रमशः देशविकासको क्रममा हट्तै जानेछन्। तर राष्ट्रिय अस्मिता, राष्ट्रिय अर्थतन्त्र, राष्ट्रिय धरोहर, संस्कृति, परम्परा आदिको जगेर्ना मिडियाले नगर्ने हो भने कसले गरिदेला त?
 
आठदस वर्षअघिको एउटा घटना यस्तो छ सिङ्गापुर एयरपोर्टमा एकजना यात्री लागूऔषधको ठूलो परिमाणका साथ पक्राउ परेछन्। त्यहाँको कानुनअनुसार मृत्युदण्ड दिनुपर्ने अक्षम्य अपराध थियो त्यो। तर पक्रिएका व्यक्ति गोर्खाली परेकाले त्यहाँको सरकारले र प्रेसले यस घटनाबारे एक शब्द पनि उजागर गरेनछन्, तर त्यो समाचार एकदुई हप्तापछि नेपालमा यहाँको राष्ट्रिय दैनिकले चाहिँ छापिदिएछ। सिङ्गापुरका जिम्मेवार प्रेसहरूले नछापेको कारणचाहिँ के थियो भने सिङ्गापुरका राष्ट्रप्रमुख र सरकारप्रमुखलगायत विशिष्ट व्यक्तिहरूका बडी गार्डप्रायः गोर्खाली सैनिक नै हुन्थे र लागूपदार्थको कारोबारसम्बन्धी जघन्य अपराधमा गोर्खाली समातिएको समाचारले भीभीआईपीका गोर्खाली सुरक्षाकर्मीको मनोबलमा असर पर्छ भनेर गोप्य राखियो। दुर्भाग्य, नेपालभित्रकै पत्रिकाले चाहिँ नेपालीको अपमानलाई सगौरव प्रस्तुत गर्‍यो।
 
नेपालका टीभी मिडियाले हालसालै पर्यटनउद्योगलाई असर पार्ने एउटा समाचार नै नबन्ने घटनालाई बढाइचढाई ठूलो घटनाका रूपमा प्रस्तुत गरे। पर्यटनउद्योग नेपालको अर्थतन्त्रको मेरुदण्ड हो।  यसको जगेर्ना र प्रवद्र्धन गर्नु हामी हरेक विविध पेसाकर्मीको धर्म पनि हो। टीभीको त्यो समाचार एकजना विदेशी महिलाकी छोरी पदयात्रीका विषयमा थियो। उनी हराइछन्। उनी मरेबाँचेको खबर नपाएको घटनालाई टीभीमा यसरी प्रस्तुत गरियो कि त्यो समाचार नेपाल आउन लागेका कुनै विदेशीले विदेशमा हेरेका भए उनले नेपालको भ्रमण नै रद्द गरिदिने थिए। विगत १० वर्षमा लाखौँको सङ्ख्यामा नेपालमा विदेशी पर्यटकहरू आएका छन्। त्यसमध्ये एकजना हराउनु प्रतिशतमा शून्य दशमलब धेरै शून्यपछि गणना हुन्छ अर्थात् त्यस्तो घटना विश्वमा जहाँ पनि हुन्छ। त्यसमा पनि पर्वतीय पदयात्रा जहाँ पनि जोखिमपूर्ण नै हुन्छ। माथि डाँडा, तल गहिरो खोल्सो र नदीबीच कतै चिप्लिँदा लास बेपत्ता हुनु अस्वाभाविक हुँदैन। तर समाचारको सार थियो नेपाल पदयात्राका लागि सुरक्षित गन्तव्य होइन भन्ने। यस्तो समाचारसम्प्रेषण मिडियाको धर्मभित्र पर्छ कि पर्दैन?

त्यस्तै केही समयपहिले स्वास्थ्यराज्यमन्त्री राति रक्सीले मातेर वीर अस्पतालमा गई अभद्रता प्रदर्शन गरेको समाचार सबै मिडियाले प्राथमिकताका साथ प्रस्तुत गरे, जसले एकखाले एकाङ्गी जनमत सिर्जना भयो। तर घटनाको अर्को पक्षलाई लुकाइयो। हो, मन्त्रीजस्ता गरिमामय व्यक्तिले सार्वजनिक स्थलमा अभद्रता प्रदर्शन गर्नु हुँदैन। तर यथार्थ के पनि हो भने मन्त्री रक्सी खाएर सार्वजनिक स्थलमा सरिक भएका होइनन्, बरू कार्यालयको समयपछि राति रक्सी खाएर सुत्ने बेलामा सासूको आपतकालीन ब्रेन ह्यामरेजको समाचारले जेजस्तो स्थितिमा थिए उनी अस्पताल गए। यो र यस्तो अवस्था सबैलाई पर्न सक्छ। पत्रकार मित्रहरूलाई पनि पर्न सक्छ। प्रायः राति कुनै वारदातमा प्रहरी जाँदा मातिएका भेटिन्छन्। किनकि प्रहरी दरबन्दी कम हुन्छ, वारदात हुँदा आठघन्टे ड्युटी सकेर मदिरासेवन गरी सुतिसकेका प्रहरीलाई समेत उठाएर युनिफर्म लगाएर पठाउनुपर्दा तिनको मुख गनाउनु स्वाभाविकै हुन्छ। नेपाल मदिरानिषेधित देश होइन। जातिगत धर्मपरम्परा हेर्दा केही जातिमा त अनिवार्य पनि हुन्छ। रक्सी खाएपछि कुनै दुर्घटना पर्दा, अस्पताल जानुपर्दा वा मलामी जानुपर्दा कोही पनि रक्सी बान्ता गरेर जाँदैन। अनि आफन्तको औषधोपचारमा चिकित्सकको लापर्वाहीको प्रतिकार आम नागरिकले जसरी गर्दछ, ती मन्त्रीले पनि त्यसरी नै गरे होलान्। घटनाको यो पाटोलाई पूरै उपेक्षा गरिनु हुन्नथ्यो। स्वाभाविक र व्यावहारिक पाटाहरूलाई उपेक्षा गर्नु पनि हुँदैन। उदाहरणका लागि कुनै दिन कुनै मन्त्री एकाबिहानै ५६ बजेतिर कट्टु र गन्जी वा लुङ्गी मात्र लगाएर सडकमा आएछन्। त्यहाँ कुनै फोटोपत्रकारले फोटो खिचेछ र अखबारमा सडकमा मन्त्री नाङ्गैभनेर छापेछ। फोटो देख्ता सबैलाई हो जस्तो लाग्छ, तर त्यस दिन त्यति बेला ४५ रेक्टर स्केलको भूकम्प गएको समाचारलाई चाहिँ लुकाएर सडकमा नाङ्गै देखिएको मात्रै छाप्नुचाहिँ बेइमानी हुन्छ। भूकम्पको झड्कापछि जोसुकै जेजस्तो अवस्थामा हुन्छ, सडकमा आउँछ, त्यो स्वाभाविकतालाई उपेक्षा गर्न मिल्दैन।
 
त्यसरी नै मन्त्री, नेता वा कुनै भीभीआईपीले कुनै ठाउँमा बोलेको कुरा भनेर परिवेशसन्दर्भलाई लुकाएर बोलेको केही वाक्यमा केही वाक्यचाहिँ लुकाएर समाचार दिइयो र बोलेको त्यो वाक्य एफएम र टीभीमा सुनाइयो भने दर्शकलाई हो जस्तो लाग्छ, तर यथार्थ ठीक त्यस्तो नहुन पनि सक्छ। जस्तैः २०२५ वर्षअघि भारतका प्रधानमन्त्री अटलविहारी बाजपेयी नेपाल आएका थिए। कुनै एउटा कार्यक्रममा उनले आफ्नो भाषणमा भने — “विश्वको सबैभन्दा खराब व्यवस्था बहुदलीय लोकतन्त्र नै हो।केही बेर रोकिएर उनले भने — “तर के गर्ने, यसभन्दा राम्रो व्यवस्थाचाहिँ अर्को छँदै छैन।अर्थात् भन्न खोजिएको के हो भने विश्वमा हालसम्म प्रचलित व्यवस्थाहरूमा केही कमीकमजोरीहरू भए पनि बहुदलीय लोकतन्त्र नै उपयुक्त व्यवस्था मान्नुपर्छ। तर कुनै प्रेसले अघिल्लो वाक्य विश्वको सबैभन्दा खराब व्यवस्था बहुदलीय लोकतन्त्र नै होभनेर बाजपेयीले भने भनी समाचार बनाएको भए अनर्थ हुने थियो। हिजोआज केही मिडियाहरूले नेता र मन्त्रीले बोलेका कुराहरूमा बीचको अंश सस्वर प्रसारण गरेर समाचार बङ्ग्याउने गरेको पनि पाइन्छ। सायद यो पनि प्रेसधर्म होइन कि?

Share on Social Media