April 10, 2021

Interdisciplinary Discourse

Forum for KU Academics

चेखोभको जन्मभूमिमा

– जङ्गब चौहान
दक्षिण रसियाको एउटा सानो तटीयनगरको नाम हो तगानरोग। नोबेल पुरस्कार विजेता सोभियत लेखक मिखाइल शोलोखोभको प्रसिद्ध उपन्यास शान्त दोनको पृष्ठभूमि यो क्षेत्र विख्यात रसियाली नदी दोनको सिञ्‍चित प्रदेश मानिन्छ।
तीनतिरबाट अजोभ सागरले घेरिएको यो सानो हरियालीपूर्ण सहर वास्तवमै मनमोहक छ। दक्षिणी रुसको रस्तोभ प्रान्तको केन्द्रीय सहर सोलोखोभको जन्मभूमि रस्तोभबाट ७५ किलोमिटर पूर्वमा रहेको तगानरोग पुग्न दोन नदीको किनारैकिनार अजोभ सागरतिर लाग्ने विद्युतीय रेलबाट जानुपर्छ अथवा सानो जहाज यात्रा पनि रोज्न सकिन्छ। मास्कोबाट लगभग चौबीस घण्टाको एक्सप्रेस रेलयात्रापछि रसियाको सुदूरदक्षिणमा रहेको यो रमणीय सहरमा म तगानरोग विश्वविद्यालयको पाहुना भएर गएको थिएँ। जुन महिनाको सुन्दरता आफ्नै किसिमको हृदयस्पर्शी लागिरहेको थियो। मेरो मन भने विश्वविख्यात रुसी कथाकार एवम् नाटककार अन्तोन चेखोभको पावन जन्मभूमि टेक्न हतारिएको थियो।
म तगानरोग पुगेको रातभरि नै पानी परिरहयो। दिउँसो भने आकाश छ्याङ्ग। मीठो घाम। गर्मी पनि होइन जाडो पनि होइन। यसरी नै उघ्रिएका दर्जनौँ आकर्षक दिनमध्ये एउटा बिदाको विशेष बिहानी आइपुग्यो। दूरदेशबाट आउने दुई दिनको पाहुनाका लागि अजभ सागरको चञ्‍चल लहरसँगै चेखोभको भावदशामा रमाउने तगानरोग सानो भए पनि आँखाको नानीजस्तै प्रिय लाग्ने रहेछ।
चेखोभको जन्मघर
रणनीतिक र व्यापारिक महत्वको दक्षिण रुसको यो तटवर्ती सहर साहित्य, कला र संगीतका दृष्टिले रसियाको पावनभूमि मानिदो रहेछ। जार अलेकसान्द्र प्रथमले निरंकुशताको विद्रोहमा लागेका रुसका महान कवि पुश्किनलाई यसै भेगमा निर्वासनमा पठाएका थिए। यसरी ५ जुन १८२० मा तगानरोग आइपुगेका पुश्किनले यहाँको जीवन र प्रकृतिबाट थुप्रै काव्यात्मक प्रेरणा ग्रहण गरेका थिए। व्यापारिक केन्द्रका कारण १६ राष्ट्रले यस सानो नगरमा उहिले नै आ-आफ्ना वाणिज्य दूतावासहरू खोलेका थिए। त्यसैको स्मृतिमा यहाँका कतिपय सडकहरूको नामाकरण गरिएको रहेछ, जस्तै ग्रिक गल्ली, इटालेली चौक आदि। यस नगरमा विश्वविख्यात रुसी संगीतकार चाइकोभ्स्कीले आफ्नो जीवनको महत्वपूर्ण समय बिताएका थिए। उनले आवासको रूपमा प्रयोग गरेको वनकिनाराको कलात्मक रातो घरले अहिले पनि देश-विदेशबाट आउने भावुक यात्रीहरूलाई स्वागत गरिरहेको हुन्छ। यही घरमा बसेर चाइकोभ्स्कीले कयौँ मृदु सिम्फोनीहरूको सिर्जना गरेका थिए।
सागरतटमा अवस्थित एउटा सुन्दर वाटिकाको मध्यभागमा पुश्किनको विशाल कदको सालिक छ। नगरको केन्द्रमा पुश्किनको स्मृतिमा सडकको नाम राखिएको छ। त्यहाँबाट अलि पर जाँदा नाट्यचोकको अगाडि रहेको चेखोभ नाट्यशालामा देश-विदेशका उत्कृष्ट नाटकहरूको मञ्‍चन भइरहेको हुन्छ। यहाँ भद्रभलादमीहरूको मौन भीड देख्दा अचम्म लागेर आउँछ। भीड तर शान्त। कताकता जीवन र मृत्युको खोजमा हराएजस्तो।
यसरी तगानरोगले कयौँ स्रष्टाहरूको सम्झना गर्ने क्रममा अन्तोन चेखोभलाई आफ्नै मुटुभित्र टाँसेको रहेछ। चेखोभको जन्मभूमि भएकाले पनि यसो हुन गएको होला। उनको पुर्ख्यौली घर, उनले अध्ययन र सिर्जनाको क्रममा बाल्य र युवा दिनहरू बिताएको सानो चिटिक्‍क परेको आवासगृह, चेखोभ पुस्तकालय, चेखोभ संग्रहालय, चेखोभ नाट्यशाला, उनको पूर्णकदको सालिक, चेखोभ मार्ग, चेखोभ स्मारक माद्यमिक विद्यालयजस्ता सवै चेखोभ स्मारकहरूलाई तागानरोगवासीहरूले गौरवका साथ जोगाएर राखेका रहेछन्। कति गौरव छ चेखोभमाथि यस नगरलाई। कुनै पनि नगरवासीलाई चेखोभबारे सोधियो भने उसले प्रसन्‍नता र हार्दिकताका साथ चेखोभको जीवनी र कृतित्वका सम्बन्धमा सविस्तार बताउन खोज्नु आफ्नो कर्तव्य नै ठानेको हुँदोरहेछ। हामी नेपालीले तगानरोगवासीबाट यस सन्दर्भमा सिक्नुपर्ने कुरा धेरै रहेछ। उद्योगधन्दा, बन्दव्यापारसँगसँगै आफ्नो सहरलाई कसरी साँस्कृतिकरूपमा सम्पन्‍न  बनाउन सकिने रहेछ भन्‍ने तथ्यको एउटा ज्वलन्त उदाहरण बनेर बसेको रहेछ यो सहर।
सुदूर धर्तीको यो सामुद्रिक सहरको भ्रमणबाट मलाई के अनुभव भयो भने रुसी हृदयहरूलाई छाम्ने हो भने मास्को, सान्तपितर्सबर्ग होइन यो दोन नदीद्वारा सिञ्‍चित भूभागतिर आउनुपर्ने रहेछ, तगानरोग आउनुपर्ने रहेछ, कृषकहरूले आफ्नो श्रम पसिनाद्वारा सिँगारेको प्रदेशमा आउनुपर्ने रहेछ। यहाँ भेटिने छ सिर्जनात्मक रुस, तोल्सतोयको रुस। यहाँ चेखोभको रुस भेटिने छ, गोर्कीको रुस भेटिने छ र भेटिने छ चाइकोभ्स्कीको संगीत र शिशकिनको कलाले सिँगारिएको रुस। यहाँ शोलोखोभको प्रियभूमिमा बस्ने दोन नदीको शान्त धारहरूलाई स्पर्श गर्न पाइन्छ। कहाँ पाउनु यो आत्मीयता, यो हार्दिकता, यो कलात्मक संसार रसियाका विशाल नगरीहरूमा हिजोआज।
दिनभरि विश्‍वविद्यालयसँग सम्बन्धित कामपछि बेलुकीपख तगानरोगका सडकहरूमा, तटीय इलाकामा, सार्वजनिक उद्यानहरूमा, संगीतालयमा, नाट्यशालामा, अजोभ सागरको नौकाविहारमा जताजता गए पनि वातावरण चेखोभमय हुने रहेछ। यहाँको समुद्रीतटमा उभिएर कलात्मक मौनता साँध्न सकिने रहेछ। तटीय इलाकाको शून्यता, सेता समुद्री छालहरू र पक्षीका संगीतमय गान सबै सबैले जति तान्दै जान्थ्यो, विश्‍वका यी महान स्रष्टाको सिर्जनात्मक संसारले जति जति आफूभित्र समाहित गर्दै लान्थ्यो, भित्र भित्र कता कता घाउ दुखे झैँ लागिरहन्थ्यो आफ्नो मुलुकको सम्झनामा। यहाँको  सुन्दर आत्मीयताको, शालीनताको, हार्दिकताको अनन्त गीत गाउँदै छुट्टिने बेलामा मनभरि यस्तो भाव आएको थियो – तगानरोग, म तिम्रो महानताको गीत गाउन सक्छु तर मलाई बाँच्न मेरै हिमालको छहारी चाहिन्छ, मेरै पहाड र तराईको वासना चाहिन्छ। शीतल शीतल प्यारो प्यारो। मलाई लाग्यो चेखोभको सिर्जनात्मक संसारमा जस्तै दैनिक यथार्थबाट उठेर दर्शनको नीलगगनमा चिलझैँ उडिरहने मन लिएर बितेको यौवन र हराएका आकांक्षाहरू समेट्दै लयात्मक जीवन बाँच्न सके कति राम्रो हुने थियो।
Share on Social Media