April 10, 2021

Interdisciplinary Discourse

Forum for KU Academics

अन्तरिक्ष–विज्ञान सम्बन्धमा केही चर्चा

– निर्मलमणि अधिकारी

विश्वका प्रायः सबै पाठशालाहरुमा निकोलस कपर्निकस (सन् १४७३– १५४३) लाई सर्वप्रथम सौरमण्डलको विज्ञान–सम्मत अध्ययन गर्ने वैज्ञानिकको रुपमा मान्यता प्राप्त छ। अन्तरिक्ष विज्ञानसम्बन्धी चर्चा अधिकांशतः आरम्भ गरिन्छ उनैको नामबाट। पछि केप्लर, ग्यालिलियो, न्यूटन आदि वैज्ञानिकहरुले यिनैको सिद्धान्तको अनुशरण गरेका हुन् भनिन्छ। ग्यालिलियो ग्यालिलि (सन् १५६४– १६४२) टेलिस्कोपको आविष्कार गर्ने वैज्ञानिक हुन् र यिनले परावर्तित प्रकाशद्वारा अन्तरिक्षको विशिष्ट अध्ययन गर्न सकेका छन्। यी वैज्ञानिकहरुको योगदानलाई म आदर गर्छु र उनीहरुप्रति मेरो सम्मान छ। तर मलाई चित्त नबुझेको कुरोपनि यहीँनेर छ। प्राचीन भारतवर्षका वैज्ञानिकहरुलाई आधुनिक विश्व-समुदायले चटक्कै बिर्सेको छ र ती प्राचीन वैज्ञानिकहरुले आफूले गरेका आविष्कारको श्रेय पाइराखेका छैनन्। पख्नोस्, वेदसम्म पुग्नुअघि पहिले त केही शताब्दीअघिको कुरा गरौं।

माथिनै उल्लेखित छकि कपर्निकसको समय थियो सन् १४७३– १५४३ र ग्यालिलियोको समय थियो सन् १५६४– १६४२। जबकि पाँचौं शताब्दीका (अर्थात्, कपर्निकसको तुलनामा करिब एक हजार वर्ष प्राचीन) भारतवर्षीय वैज्ञानिक आर्यभट्टको पुस्तक ‘आर्यभट्टीय’मा अन्तरिक्ष विज्ञानको जति तथ्य लेखिछाडिएको छ; त्यो हेर्दाखेरिमा स्पष्ट हुन्छकि आधुनिक विश्वका सबै पाठशालाहरुमा आर्यभट्टलाईनै सौरमण्डलको विज्ञान–सम्मत अध्ययन गर्ने पहिलो वैज्ञानिकको रुपमा मान्यता दिनुपर्ने हुन्छ। आर्यभट्टको वैज्ञानिक सिद्धान्तलाई आज उनीभन्दा धेरैपछिका कपर्निकसको सिद्धान्त भनेर पढाइनु अन्यायपूर्ण कार्य हो। आर्यभट्टीय पुस्तक अहिले पनि प्राप्य छ (यसलाई पश्चिमाहरुलेचाहिँ सन् ९५० को भन्दछन्) — जसमा उनले सूर्यग्रहण र चन्द्रग्रहणको वैज्ञानिक कारण दिएका छन्। पृथ्वीले सूर्यलाई घुम्दछ र त्यसै कारणले दिन–रातको भेद हुन्छ भनेर लेखेका छन्। सोही पुस्तकमा आर्यभट्ट लेख्छन्— चन्द्रमा तथा अन्य ग्रहसँग आफ्नो प्रकाश छैन र तिनीहरु सूर्यको प्रकाशले प्रकाशित हुन्छन्। उनले दूरदर्शकयन्त्र पनि बनाएका थिए भनिन्छ। यसरी अहिले सर्व–स्वीकृत ‘सूर्यकेन्द्रित सिद्धान्त’का जनक आर्यभट्ट हुन् र कपर्निकस, ग्यालिलियो आदिचाहिँ त्यस परम्पराका उत्तराधिकारीमात्र हुन् भन्ने छर्लङ्ग देखिन्छ। तर विद्यालय, उच्चविद्यालय तथा विश्वविद्यालयहरुमा किन पढाइँदैन त आर्यभट्टको योगदान ? कम्तीमापनि नेपाल–भारतका विद्यालय, उच्चविद्यालय तथा विश्वविद्यालयहरुमा त पढाइनै पर्छ उनको बारेमा।

चन्द्रमामा मानव बस्ती बसाल्ने कल्पना गर्न थालेको छ आधुनिक मानवले। मिति सन् १९५७ अक्टोबर ४ मा तत्कालीन सोभियत संघद्वारा स्पुतनिक–१ मानवनिर्मित प्रथम अन्तरिक्षयान प्रक्षेपण गरेपछि आधुनिक विज्ञानको अन्तरिक्षसम्बन्धी अध्ययनको नयाँ अध्यायको आरम्भ भएको थियो। सन् १९५९ मालुना–२ चन्द्र धरातलमा पुग्योभने सन् १९६१ अप्रिल १२ मा सोभियत रुसले युरी गागरिनलाई अन्तरिक्षमा पठायो। सं.रा. अमेरिका सन् १९५८ जनवरी ३१ मा एक्सप्लोर–१ प्रक्षेपण गरी अन्तरिक्ष विज्ञानको क्षेत्रमा प्रवेश ग-यो। सन् १९६९ जुलाइ १६ मा केप केनेडीबाट नील आर्मस्ट्रङ्, एडविन एल्ड्रीन र माइकल कलिन्सलाई लिएर उडेको ‘अपोलो’ अन्तरिक्षयान चन्द्रमामा पुग्न सफल हुनुलाई आधुनिक विज्ञानको महान् उपलब्धि मानिएको छ। त्यसपछिका दिनमा अन्तरिक्षतर्फ धेरैओटा अन्तरिक्षयानहरु प्रक्षेपण गरिएका छन्। अन्तरिक्ष विज्ञानका क्षेत्रमा भए–गरेका उपलब्धिहरुप्रति गर्व गर्न हिच्किचाउनु पर्दैन। साथसाथै गर्वयोग्य कुरो योपनि छकि हाम्रा प्राचीन शास्त्रहरुमा अन्तरिक्ष विज्ञानको भण्डार छ।

तर, हाम्रा प्राचीन शास्त्रहरुमा अन्तरिक्ष विज्ञानको भण्डार भएको कत्तिपनि मेसो नपाएका तथा “नील आर्मस्ट्रङ्हरु चन्द्र धरातलमा पुगे अरे ….” भन्दाखेरिमा पनि ट्वाँऽऽ परेर बस्ने व्यक्तिहरुपनि थुप्रै छन्। धर्मशास्त्र भन्नेबित्तिकै नाक चेप्राउने उल्लुहरुको संख्यापनि कम छैन। अनि, शास्त्रलाई पोको पारेर पुजामात्र गर्ने, पढ्न–गुन्नचाहिँ नखोज्ने प्रवृत्तिपनि देखिएकै छ।

चन्द्रमामा पहिरो गएर विचित्र किसिमको शब्द भइरहने गर्छ तथा त्यहाँ सात किसिमका पत्थरहरु छन् भन्ने तथ्य ऋग्वेद र शुक्लयजुर्वेदमा उल्लिखित रहेको पाइएको छ। (यहाँ त्यो ‘पहिरो’लाई सामान्य अर्थमा बुझ्ने गल्ती नगरौं नि !) आधुनिक अन्तरिक्ष विज्ञानले पत्ता लगाएको कुरा पनि यस्तै छ। यसरी सो वैदिक तथ्यलाई आधुनिक अन्तरिक्ष वैज्ञानिकहरुले पनि पुष्टि गरेका छन्। वेदमा भनिएझैं नै धातु खानी भएको तथ्यपनि क्रमशः प्रमाणित भइरहेका छन्। विश्वको सबैभन्दा पुरानो शास्त्र ऋग्वेदको भनाइ आधुनिक वैज्ञानिकहरुको खोजीले पुष्टि हुनुको ठुलो अर्थ छ। यसले इंगित गर्ने संकेत पनि निक्कै महत्वपूर्ण छ।

वेदमा “यां चन्द्रमसि ब्राह्मणा दधुः” भनी ब्राह्मणहरुले पृथ्वीको भाग चन्द्र धरातलमा लगेर राखेको प्रागैतिहासिक कालको ‘इतिहास’पनि भेटिइएको छ। यस तथ्यले के देखाएको छभने नील आर्मस्ट्रङ्हरुलाई चन्द्र धरातलमा पुग्ने प्रथम मानवको मान्यता अहिले मिलिरहेको छतापनि उनीभन्दा हजारौं वर्ष अघि (कुनै युगमा) ऋषि एवम् ब्राह्मणहरु चन्द्र धरातलमा पुगेको हुनुपर्छ। अझ आश्चर्यको कुरो लाग्नसक्छ तपाईंहरुलाई— वेदमा अन्तरिक्षयान निर्माण गर्ने र विभिन्न लोकमा यात्रा गर्ने प्रविधिको बयान गरिएका ऋचाहरु हामीसँग छँदैछन् र यदि त्यसकालागि खर्च हुने अरबौं रुपैयाँ उपलब्ध हुनसक्दा हामीले त्यस्ता अन्तरिक्षयानहरु निर्माण गर्न सकिन्छ। आर्य परम्पराका शास्त्रहरु वेद, उपनिषद् आदि र ‘विज्ञान’ बीचको अन्तर्सम्बन्ध बुझ्न नसक्दा हामीलाई भइरहेको घाटाको पत्तो कतिलाई होला ? अनि ख्याल रहोस्— यदि आधुनिक प्रविधिपनि लिन नसक्ने र परम्परागत प्रविधिपनि बिर्सने होभने समयको प्रवाहमा गतार्थ (आउटडेटेड) भई कालान्तरमा समाप्तै हुने नियति भोग्नुपर्छ नि !

Share on Social Media