सोमरस भनेको मदिरा नै हो त ?

– मुकुन्दप्रसाद उपाध्याय

मदिरापान एक्काइसौँ शताब्दीमा हरेक सम्भ्रान्त परिवारको संस्कृति बनिसकेको छ। मदिरापान गर्ने वर्गहरू आफूलाई सभ्य र सुसंस्कृत बताउँछन्। तर मदिरापान कुलीन वर्गको मात्र वर्गीय पहिचान होइन। सर्वहारादेखि सर्वमारासम्मको हरेक वर्गमा यो व्याप्त छ। वास्तवमा यो नसा हो, व्यसन हो। निम्नवर्गले निम्नकोटिको मदिरा सेवन गर्छन् त कुलीन या उच्चवर्गले उच्चकोटिको। फरक त्यत्ति हो। मेडिकल साइन्सले मदिरापान स्वास्थ्यका लागि हानिकारक प्रमाणित गरिसकेको छ।

हाम्रो समाजमा ब्राह्मणजाति बुज्रुक, अग्रज अनि चतुर र छट्टु जाति मानिन्छ। मदिरापानको कुलतमा फसेका यस जातिका विद्वान्हरू आफ्नो ज्ञान र विद्वत्ताको दुरुपयोग गर्दै ‘मदिरापान हाम्रो वैदिक संस्कृति हो, स्वर्गका देवताहरू पनि सोमरस पान गर्ने गर्थे’ भन्दै आफ्नो लतलाई उच्चता प्रदान गर्न उद्यत देखिन्छन्। के देवताहरूको प्रिय वस्तु, देवताहरूले पान गर्ने, वैदिक यज्ञमा चढाइने सोमरस पनि साँच्चिकै नसालु पेयपदार्थ नै थियो त ? यस लेखमा यसैको परिचर्चा गर्न खोजिएको छ।

हिन्दूधर्मलाई सनातनधर्म भनिन्छ। किनकि यो वेदविहित धर्म हो, अनि वेद अनादि, सनातन र अपौरुषेय हो। त्यसैले अचेल हाम्रो हिन्दूधर्मलाई सनातन वैदिक धर्म भनेर परिभाषित गर्ने गरिन्छ। वेद अनादि र अपौरुषेय भनेर जान्दाजान्दै पनि हाम्रा केही आध्यात्मिक चिन्तक, इतिहासकार र संस्कृतिविद्हरू वेदरचनाको कालखण्ड पहिल्याउनमा तल्लीन छन्। तिनको बुद्धिविलासका अनुसार तिनीहरूले ‘ऋग्वेद’ को रचनाकाल आजभन्दा ५ हजार वर्षदेखि ६ हजार वर्षका बीचमा रहेको अनुमान लगाएका छन्। ‘ऋग्वेद’ मा प्रमुख देवताका रूपमा इन्द्रको उपासना र स्तुति गरिएको छ। इन्द्रपछिका अन्य प्रमुख देवताहरूमा सूर्य, अग्नि, वरुण, वायु, मरुत्, अश्विनिकुमार, सोम, मित्र, विश्वदेव, ऋभु, वृहस्पति आदि छन्। यी सबै देवताहरूले सोमरस पान गर्ने गरेको कुरा ‘ऋग्वेद’ मा सयौँपटक आउँछ। ‘ऋग्वेद’ मा इन्द्रलाई सोमपान गर्नेहरूमध्ये धेरै सोमपान गर्ने देवताका रूपमा वर्णन गरिएको पाइन्छ। इन्द्रलाई देवताहरूका राजा, भोगविलासमा रमण गर्ने, सुरासुन्दरीप्रति आसक्त, इन्द्रियासक्त विषयी देवताका रूपमा पुराणहरूले समेत स्वीकारेका हुँदा ‘ऋग्वेद’ मा वर्णित इन्द्रले पान गर्ने, इन्द्रलाई मन पर्ने पेयपदार्थ सोमरसलाई मदिरा बताउनेहरूको तर्कलाई पनि ठाडै नकार्न सक्ने ठाउँ छैन।

तर यो शास्त्रको सतही बुझाइ र आफ्नो रुचिअनुसारको विश्लेषण हो जस्तो लाग्छ। मदिरालाई चलनचल्तीको भाषामा रक्सी भनिन्छ, शास्त्रमा सुरा पनि भनिन्छ, रसायनशास्त्रको भाषामा अल्कोहल भनिन्छ अनि अल्कोहलको मात्रामा र स्वादमा विविधताका दृष्टिले मदिराभित्र ह्विस्की, ब्रान्डी, रम, बियर, वाइन, जाँड, तोङ्वा अनि रूखबाट सोझै निकालिने खजुर र ताडी आदि सबै पर्दछन्। यी सबै मादक पेयहरू मूलभूत रूपमा तीन किसिमले बन्दछन् — (१) अन्नबाट बनाइन्छ, २. फलहरू र फूलहरू (महुवा आदि) बाट बनाइन्छ, अनि (३) विशेष प्रजातिको वृक्षलाई ताछेर त्यसको रस वा चोपबाट बनाइन्छ। यसरी बनाइने मदिराहरूमध्ये कुनचाहिँ मदिरा देवताहरूले पान गर्ने सोमरससँग मिल्दोजुल्दो छ त ? यो पनि चर्चाको विषय हुन सक्छ।

एकथरी सन्त–महात्माहरूले गरेको अभिभाषण वा प्रवचनमा ‘वेदवर्णित देवताहरूले पान गर्ने भनेको सोमरस मदिरा किमार्थ होइन, किनभने सोम भनेको चन्द्रमा हो र चन्द्रमाको शीतलतालाई पान गर्ने कामलाई नै सोमरसपान भनिएको हो’ भनेर अथ्र्याएको मैले सुनेको छु। नेपाल राजकीय प्रज्ञाप्रतिष्ठान

(हालको नेपाल प्रज्ञाप्रतिष्ठान) द्वारा प्रकाशित ‘नेपाली वृहत् शब्दकोश’ मा ‘सोमरस’ लाई ‘सोमलता नामको लहराबाट निकालिने देवताहरूले पान गर्ने रस एवं सोमरसले झैँ मत्याउने पेयपदार्थ’ भनेर अर्थ लगाइएको छ। सोही शब्दकोशमा ‘सोमलता’ लाई चाहिँ ‘शुक्लपक्षमा दिनहुँ पातहरू पलाउने र कृष्णपक्षमा क्रमशः झर्दै गएर औँसीको दिनमा डाँठ मात्र बाँकी रहने हिमालयतिर पाइने एक लहरो’ भनिएको छ। शब्दकोशले उक्त लहरोको बोटानिकल नाम भने दिन सकेको छैन। यसरी शब्दकोशले परोक्ष रूपले सोमरसलाई मत्याउने पदार्थका रूपमा स्वीकारेको देखिन्छ। साथै उक्त शब्दकोशमा नै ‘सुरा’ शब्दको अर्थ दिने क्रममा ‘(१) रक्सी, मदिरा, मद्य, (२) सोमरस, (३) जल, पानी’ भनेर थप भ्रम सिर्जना गरिदिएको देखिन्छ।

यी प्रश्नहरू वा शङ्काहरूको निवारण गर्न फेरि वेदतिर नै जाऊँ। हिन्दूहरूको मात्र होइन, मानवजातिकै प्राचीनतम ग्रन्थका रूपमा ‘ऋग्वेद’ लाई मानिएको छ। यस कुरामा पाश्चात्य विद्वान्हरूको पनि विमति छैन। वेद विभिन्न समयमा विभिन्न ऋषिहरूले साक्षात्कार गरेका मन्त्रहरूको सङ्ग्रह हो। मन्त्रसङ्ख्याको दृष्टिले १०५५२ मन्त्रहरू भएको ‘ऋग्वेद’ लाई वेदहरूमध्येको जेठो र गहन मानिएको छ। वेदलाई संहिता, ब्राह्मण, आरण्यक र उपनिषद् गरी चार भागमा विभाजन गरिएअनुसार ‘ऋग्वेद’ का पनि चार भाग छन्। ऐतरेय र कौषीतकी यी दुई ‘ऋग्वेद’ का ब्राह्मण हुन्। आरण्यकहरूमा ऐतरेयारण्यक, साङ्ख्याउन र कौषीतकी गरी तीन आरण्यकहरू प्रसिद्ध छन्।

वेदका मन्त्रहरूलाई ऋचा भनिन्छ। ‘ऋग्वेद’ को पहिलो मण्डलको सूक्त २३ को २३० औँ ऋचामा ‘हे वायुदेव ! आऊ र यी दूध मिसाइएका कडा सोमरसहरू पान गर’ भनेर भनिएको प्रसङ्ग र सोही मण्डलको सूक्त ५ को ४५ औँ ऋचामा सोमरसलाई दहीमिश्रित पवित्र पदार्थका रूपमा उद्धृत गरिएबाट केही धार्मिक विद्वान्हरूले ‘ऋग्वेद’ मा वर्णित सोमरस पञ्चामृत हुन सक्ने तर्क अघि सारेका छन्। वैदिक कर्मकाण्डका यज्ञ, पूजा आदिमा सबै देवीदेवताहरूलाई पञ्चामृत अर्पण गरिन्छ, जुन पाँच पदार्थको मिश्रित झोल हो। ती पाँच पदार्थहरूमा गाईको दूध, गाईको दही, गाईको घिउ, सखर (वा चिनी) र मह पर्दछन्। ‘ऋग्वेद’ को बाँकी प्रसङ्गलाई बेवास्ता गरेर ती दुई ऋचाहरूलाई मात्र लिँदा सोमरसलाई हालको पञ्चामृतजस्तो रस भनेर भन्न सकिन्छ। तर अन्य प्रसङ्गहरूमा चाहिँ वनस्पति वा लतातिर बढी सङ्केत गरिएको छ।

‘ऋग्वेद’ कै प्रथम मण्डलको सूक्त ५ को ३७ औँ मन्त्रमा सोमरसलाई यज्ञको सम्पत्ति, नेताहरूलाई उत्साहित गर्ने, वहनशील, साथीहरूलाई आनन्द दिने, शीघ्र प्रभाव पार्ने भनेर वर्णन गरिएको छ। वेदको यो वर्णनमा रहेको ‘नेतृत्ववर्गलाई उत्साहित गर्ने, आनन्द दिने र शीघ्र प्रभाव पार्ने’ यी तीन गुण मदिराको गुणसँग मिल्ने भएकाले केही पण्डितहरूले मदिराको नाता सोमरससँग जोड्न खोजेको देखिन्छ।

‘ऋग्वेद’ को सूक्त २८ को ३१३ औँ मन्त्रमा ‘पिँध मोटो भएको ढुङ्गालाई माथि राखेर त्यहाँ ओखलमा पिसिएको सोमरस बारम्बार खाऊ’ भनेर इन्द्रको स्तुति गरिएकाले सोमरस ओखलमा पिसेर निकालिने रस रहेछ भन्ने बुझिन्छ। सोही सूक्तको ३१४ देखि ३२१ सम्मका ८ वटा मन्त्रहरूमा मुस्ली र ओखलबाट सोमरस उत्पादन हुने कुराको उल्लेख छ, अनि वृक्ष–वनस्पतिहरूको पनि उल्लेख भएको हुँदा कुनै वनस्पतिविशेषलाई ओखलमा पिसेर विशिष्ट प्रकारको मीठो रस निकालिने कुरो बुझिन्छ। चास्नीमा छानेर सोमरस निकाल्ने प्रविधिको समेत उल्लेख गरिएको छ। सूक्त ३० मा पुनः दूध मिसाइएको सोमरसको वर्णन छ। हाल चलनचल्तीमा खाइने रक्सी, बियर आदि विश्वमा कहीँ कतै पनि दूधसँग मिसाएर अथवा दहीसँग मिसाएर खाइने चलन छैन। त्यसैले मदिरासँग सोमरसको एकता स्थापित गर्न सकिँदैन। वेदवर्णित सोमरस उत्पादन गर्ने विधि र मदिरा उत्पादन गर्ने विधिमा पनि फरक छ। सोमरस निकाल्न ओखल, मुस्ली आदि प्रविधि पाइएकाले यो प्रविधि वनौषधि निकाल्ने आयुर्वेदिक प्रविधि रहेको प्रतीत हुन्छ।

‘ऋग्वेद’ को पहिलो मण्डलको ८९७ औँ ऋचामा सोमरसलाई शीतलता प्रदान गर्ने, आनन्द दिने र बल दिने भनिएको छ भने ९०४ औँ ऋचामा ‘ऋत्विक्हरूले इन्द्रको प्रसादका रूपमा सोमरस खाँदा साँच्चै नै तृप्त भएर आ–आफ्नो शरीर हल्लाए’ भनिएको छ। यहाँ ‘खाएर शरीर हल्लाए’ भनिएबाट सोमरस मादक पदार्थ हुन सक्ने अनुमान गरिएको हुन सक्छ। त्यस्तै त्यही मण्डलको ९०७ र ९०८ औँ ऋचामा इन्द्रलाई सोमरसले मनग्गे खुसी पारेको हुँदा ‘गएर आफ्नी पत्नीसँग पारिवारिक सुख प्राप्त गर’ भनिएबाट सोमरस पुष्टिवद्र्धक अति पौष्टिक पेय हो भन्ने अर्थबोध हुन्छ। यसै गरी अन्य ऋचाहरूमा पनि सोमरसलाई बल दिने, मीठो, स्वादिलो आदि विशेषण दिइएको छ।

यसरी शास्त्रहरूमा वर्णित सोमरसपान र सुरापान बिलकुलै फरक कुरा हुन् भनेर बुझ्नुुपर्ने हुन्छ। वेदमा उल्लिखित अश्वबलि र पशुबलिको साङ्केतिक अर्थ नबुझेर वर्तमान हिंसाप्रधान बलि र केही आदिवासी समाजमा प्रचलित नरबलिलाई वेदसँग जोड्ने धृष्टता गरिएजस्तै अचेलको मदिरालाई वैदिक सोमरससँग जोड्नु पनि धृष्टता नै हो। वेदमा धेरै ठाउँमा यज्ञलाई अहिंसामय यज्ञ भनेर बताइएबाट पनि पशुबलि वैदिक यज्ञको विरासत होइन भनेर बुझ्नुपर्ने थियो।

‘ऋग्वेद’ को प्रसङ्गबाट कतिसम्मचाहिँ प्रस्ट हुन्छ भने सोमरस सात्विक पेयपदार्थ हो जो देवताहरूले पान गर्दथे, यो यज्ञको एक अङ्ग पनि हो, कुनै खास वनस्पति वा लतालाई कुटेर त्यसको रस छानेर सोमरस बनाइन्थ्यो, जुन रस दही र दूधसँग मिसाएर सेवन गर्दा अझ बढी लाभदायक हुन्थ्यो। यज्ञमा सोमरस पान गर्न सबै वैदिक देवताहरू आउन आतुर हुने स्थितिलाई बुझ्दा केचाहिँ अर्थ लगाउन सकिन्छ भने सोमरस देवताहरू आफैँले उत्पादन गर्न नसक्ने तर मनुष्यहरूले उत्पादन गरेर देवतालाई अर्पण गर्न सक्ने झोल पदार्थ रहेछ।

‘महाभारत’ को उद्योगपर्वमा महात्मा विदुर र राजा धृतराष्ट्रबीचको संवाद छ जसलाई विदुरनीति पनि भनिन्छ। त्यसमा विदुरले एउटा राजाले सातवटा दुर्गुणबाट टाढै रहनु भनेर मद्यपानलाई पनि एउटा दुर्गुण बताएका छन्। भद्रपुरुषले मद्यपान गर्न हुँदैन भन्ने विदुरको ठहर छ। ऋग्वेदकालीन इन्द्र देवताका राजा, भगवान् विष्णुका अंशपुरुष भएका कारणले इन्द्रले पान गर्ने सोमरस मद्यपान हुने सम्भावना देखिँदैन।

‘श्रीमद्भगवद्गीता’ को सत्रौँ अध्यायमा श्रीकृष्णले अर्जुनलाई बताएको सात्विक, राजसी र तामसी खाद्यवस्तुको व्याख्याअनुसार मदिरा दुर्गन्धित, बासी, उच्छिष्ट मादक द्रव्य भएकाले त्यो तामसी भोजन हो। तामसी वस्तु वैदिक यज्ञमा चढ्ने या चढाइने कुरै भएन। परम्परागत रूपमा रक्सी सेवन गर्ने विश्वका केही आदिवासी जनजातिहरूले भौगोलिक विशिष्टताका कारण जाडोबाट बच्न रक्सी सेवन गर्ने गरेका र आफूले सेवन गरेको वस्तु आफ्ना इष्टदेवतालाई समेत अर्पण गर्ने गरेका कारण त्यो नै परम्परा बन्न गएको र देवतालाई पनि रक्सी चढाउन थालिएको कुरा बुझ्न सकिन्छ। तान्त्रिक पद्धतिमा पनि देवतालाई मदिरा चढाइन्छ, तर वैदिक पद्धतिमा मदिरा वर्जित छ र ब्राह्मण–क्षत्री मात्र चतुर र छट्टु जाति भएकाले तिनीहरूले आफूले सेवन गर्ने सबै वस्तु भगवान्लाई चढाउँदैनन् वा भनौँ देवताहरूलाई नचढ्ने अभक्ष वस्तुसमेत भक्षण गर्ने गरेका छन्।

वेदमा सोमयाग, राजसूययज्ञ, अश्वमेधयज्ञ आदि ठूला–ठूला यज्ञहरूमा सोमलतालाई पिसेर मन्त्रोच्चारणसहित सोमरस निकाली देवतालाई चढाउने प्रसङ्ग आउँछ। यो रस पुष्टिवद्र्धक, वीर्यवद्र्धक र पवित्र रस भएकाले देवताहरूलाई अर्पण गरिएको हुँदा ऋचाहरूको प्रसङ्ग, सन्दर्भ र सङ्केतलाई नबुझेर वा बढी बुझेर त्यो रसलाई सुरा वा मदिरा थियो भन्नु भनेको वेदका त्यस्तै मन्त्रहरू नबुझेर वा बढी बुझेर अश्वबलि र पशुबलिबाट बलिप्रथा र नरबलिप्रथा जस्ता गलत प्रथाहरूलाई परम्परा र धर्मको जलप लगाइदिएजस्तै हो भन्न सकिन्छ। प्रकृति वा ईश्वरका स्थलचर, जलचर र नभचर जीवहरूमध्ये अनि ब्रह्माजीका दस प्रकारका सृष्टिहरूमध्ये मानवजातिलाई उत्कृष्ट मानिएको छ। अन्य चराचुरुङ्गी र जीवजन्तुहरूभन्दा मानवलाई उत्कृष्ट बनाउने तàवका रूपमा मानवजातिलाई बुद्धि र विवेक दिइएको छ। त्यसैका कारण मानवजाति सिर्जनशील, कलाकार, चिन्तक, लेखक, अन्वेषक, वैज्ञानिक, दार्शनिक आदि बन्न सक्छन्, अन्य जीवहरू सक्तैनन्। यसरी प्रकृतिप्रदत्त बुद्धि र विवेकलाई केही क्षणका लागि विस्मृत गराई हामीलाई बुङ्गुर–सुँगुरजस्तो पशुतुल्य बनाउने मदिरा कसरी सोमरस हुन्छ होला त ? मानवभन्दा श्रेष्ठ सृष्टि रहेका देवताहरूले यज्ञमा कसरी मद्यपान गर्छन् होला त?

खाद्यप्रविधिसम्बन्धी विशेषज्ञहरू ह्विस्की, रम र ब्रान्डीबाहेक वाइनहरूमा १० देखि १३ प्रतिशतसम्म अल्कोहल हुने, बियरहरूमा ५ देखि ७ प्रतिशतसम्म (प्रिमियम बियरमा चाहिँ बढी) अल्कोहल हुने र टनिकहरूमा ५ प्रतिशतभन्दा कम अल्कोहल हुने कुरा बताउँछन्। सोमरस बन्ने सोमलता पनि एक प्रकारको लता भएकाले लतामा सुगर हुन्छ। त्यस्तो सुगर ग्लुकोजबाट नसालु पेय बनाइँदा पनि ५ प्रतिशतभन्दा बढी अल्कोहल हुने सम्भावना देखिँदैन।

यसरी हेर्दा सोमरस पुष्टिवद्र्धक, बलवद्र्धक र गुलियो, मीठो हुने हुँदा भिटामिन टनिकजस्तो पेय पदार्थ हुन सक्छ भन्न सकिन्छ, जसमा ४–५ प्रतिशत अल्कोहलको मात्रा रहनु अस्वाभाविक देखिँदैन। वनस्पति कुटेर सोमरस बनाइने हुँदा यो पेय पनि तराईतिरका वनस्पति खजुर र ताडीको रस, नरिवलको पानी जस्तो शीतलता दिने, मीठो, बल दिने र स्वादिलो पेय रहेछ भनेर बुझ्नुपर्ने हुन्छ, जसमा केही प्रतिशत अल्कोहलको मात्रा पनि हुन सक्छ भन्ने तर्कमा भने केही तुक भेटिन्छ।

 

Share on Social Media