April 10, 2021

Interdisciplinary Discourse

Forum for KU Academics

छ लेनको सडक: बोकाको मुखमा कुभिन्डो

– मुकुन्दप्रसाद उपाध्याय

हाम्रो भाषा–साहित्यलाई निश्चित उचाइ प्रदान गर्ने एउटा कडी उखान–टुक्का पनि हो । हाम्रो शब्दभण्डारमा उखान–टुक्काहरू पर्याप्त मात्रामा छताछुल्ल भएर बसेका छन् । ती अथाह उखान–टुक्काको सागरभित्रको एउटा गागर हो ‘बोकाको मुखमा कुभिन्डो’ । हाम्रो जीवनको हरेक क्षेत्रमा यो उखान निकै सान्दर्भिक मानिन्छ । यस उखानको तात्पर्य हो कसैलाई हैसियतभन्दा बढी प्राप्त हुनु र त्यसलाई सम्हाल्न नसक्नु ।

हाम्रो देशका लागि देशको पहिलो छ लेनको चिल्लो सडक पनि झन्डै–झन्डै ‘बोकाको मुखमा कुभिन्डो’ प्रतीत हुँदो छ । विश्वमानचित्रमा हामीसँगै स्वतन्त्र भएका राष्ट्रहरूले दस–बाह्र लेनका चिल्ला सडक र फ्लाइओभरहरू बनाउन थालेको यो एक्काइसौँ शताब्दीमा बल्लतल्ल जापान सरकारले निगाह गरेकाले हामीले कोटेश्वरदेखि सूर्यविनायकसम्मको १२ किलोमिटरसम्म छ लेन (चार जोड दुई) को सडकमा गुड्ने सौभाग्य पाएका छौँ । राणाकालीन जुद्धशमशेरको पालामा बनेको सडकलाई आजपर्यन्त ‘नयाँ सडक’ भनिरहने हामी नेपालीका लागि यो छ लेनको सडक ठूलो उपलब्धि नै थियो । आधा घन्टाको बाटोलाई १२ मिनेटमा छिचोल्न सकिन्थ्यो । तर हाम्रो सोच, शैली र सरकारी बकम्फुसे नियमका कारण त्यो सडक ‘बोकाको मुखमा कुभिन्डो’ हुँदैछ । एकातिर हाम्रा सवारी–चालकहरू लेन–ड्राइभिङमा अभ्यस्त भइसकेका छैनन्, जतातिरबाट पनि ओभरटेक गर्ने गर्छन् । अति धीमा गतिमा चल्ने सवारी–साधनले कुन लेन लिने र तेज रफ्तारमा चल्ने सवारी–साधनले कुन लेन लिने, थाहा छैन । लेनमा हुनुपर्ने रफ्तार र पछिबाट पछ्याउने सवारी–साधनको वास्तै नगरी पेसेन्जर उठाउने लोकलबसहरू, नियम नलाग्ने च्याउसरहका मोटरसाइकलहरू र हाइवेमा चलाउन नपाइने साइडलाइट र ब्रेकलाइट नभएका ट्रेलरयुक्त ट्रेक्टर र पावरट्रेृलरहरू छ लेनको सडकमा निर्बाध चलाउने बानीलाई सुधार गर्नुपर्ने खाँचो र समस्याबीच सरकारले नै नयाँ समस्या खडा गरिदिएको छ । त्यो हो त्यति राम्रो सडकमा ६० किलोमिटर प्रतिघन्टाभन्दा बढी रफ्तारमा सवारी साधन चलाउन नपाइने, चलाएमा लाइसेन्स प्वाल पार्न बग्गीखाना जानुपर्ने नयाँ हास्यास्पद ट्राफिक नियम । त्यति राम्रो चिल्लो सडकमा विदेशमा झैँ न्यूनतम गति ६० किलोमिटर प्रतिघन्टा हुनुपर्नेमा त्यसैलाई अधिकतम सीमा बनाइएको छ । यो अनौठो, हास्यास्पद र लज्जास्पद बुद्धि हाम्रा नीतिनिर्माताहरूले कहाँबाट सापटी लिएका होलान् ?

नेपालमा सरकारले यस्तो नियम बनाउने कुरा थाहा पाएको हुँदो हो त  सायदै जापान सरकारले छ लेनको बाटो बनाइदिन्थ्यो होला । चीन सरकारले ठूलो सदासयता देखाएर नेपाल सरकारलाई उपहार दिएको ट्रलीबस, भृकुटी कागज कारखाना, बाँसबारी छाला तथा जुत्ता कारखाना र हरिसिद्धि इँटाटायल कारखानालाई विगतमा हामीले ‘बोकाको मुखमा कुभिन्डो’ बनाइसकेका थियौँ । सायद त्यही नियति भोग्नुपर्ने होला बिचरा छ लेन सडकले ।

हाम्रो ट्राफिक नियम पनि बडो बिचित्रको छ । रिङरोडको भीडमा अनि सूर्यविनायकबाट साँगातिर हुइँकिँदाचाहिँ गतिको सीमा छैन । त्यहाँ प्रतिघन्टा ७०, ८०, ९० किलोमिटरमा पनि गुडाउन पाइने, तर सजिलो बाटोमा चाहिँ ६० किलोमिटरभन्दा कममा हाँक्नुपर्ने रे ! छ लेनको त्यति राम्रो चिल्लो सडकमा पनि ६० किलोमिटरभन्दा बढी गतिमा हाँक्न नपाइने नियम लागू गर्ने हो भने पहिले सरकारले पाँचवटा गियर भएको हलुका सवारी–साधनको आयातमा नै प्रतिबन्ध लगाउनुपर्ने हुन्छ । किनभने त्यस सडकमा कसैले ५ नम्बर गियरमा ६० किलोमिटरभन्दा कम गतिमा सवारी–साधन गुडाएर देखाइदिनुपर्थ्यो । त्यो १० किलोमिटरमा गुड्ने करिब ८०–९० गतिमा हाँकिने हलुका सवारी हजारौँ गाडीहरूले बाध्यतावश कम रफ्तारमा सवारी साधन चलाउँदा निश्चित रूपले इन्धनको खपतमा वृद्धि हुने हुन्छ । यसबाट इन्डियन आयल कर्पोरेसनलाई नै फाइदा हुने हो ! हाम्रो देशले जेजस्तो नियम बनाए पनि अन्ततोगत्वा छिमेकी मित्रराष्ट्रलाई नै फाइदा हुने नियम बनाउनुपर्ने बाध्यता हाम्रो नियत हो वा नियति ? भगवान् जानून् !

छ लेनको नमुना त्यस सडकमा गतिको सीमितताको नियम मोटरसाइकललाई मात्र लगाइएको भए तैबिसेक हुन्थ्यो, तर एकमुस्ट सबै सवारी–साधनका लागि लगाउँदा विचार गर्नुपर्ने थियो । त्यस सडकमा अर्को थप गल्ती हुन लागिरहेको छ । त्यो हो सडकको बीचबीचमा निर्माण भइरहेको पैदलयात्रुका लागि बन्ने फ्लाइओभर हेड ब्रिजको उचाइ । ती पुलहरूको उचाइ पर्याप्त छैन । हामीले हेक्का राख्नुपर्ने कुरा के हो भने छ लेनको सडक सहरभित्रको सडक होइन । रिङरोडभित्रको सडक नभएर त्यो हाइवेको एक खण्ड हो । माथिल्लो तामाकोसी जस्ता ठूलाठूला जलविद्युत आयोजनाहरूको निर्माण हुन बाँकी नै छ । त्यस्ता आयोजनाहरू निर्माण गर्दा वा ठूला उद्योगहरू स्थापना गर्दा ठूलाठूला यन्त्र–उपकरणहरूको ढुवानी गर्नुपर्ने हुन्छ । त्यस्ता हेभी इक्विपमेन्ट ढुवानी गर्नुपर्दा के ती कम उचाइका ओभरहेड ब्रिजहरू भत्काउने ? यो अदूरदर्शी निर्णय गर्नेहरूको घैँटोमा कहिल्यै घाम नलाग्ने नै हो त ?

यो दुर्लभ नूतन सडकमा बनाइएको ट्राफिक लाइट नमिल्नु अर्थात् पहेंलो बत्तीको अवधि ज्यादै कम समयको हुनु आदिलाई त सामान्य त्रुटि नै मान्नुपर्ने हुन्छ । ६० किलोमिटरभन्दा कममा हाँक्नुपर्ने त्यस सडकमा अन्य जीवजन्तुहरू कुकुर, बस्तुभाउ आदिलाई भने कुनै ट्राफिक नियम लाग्दैन । ती जीवजन्तुहरूको सौभाग्य नै भन्नुपर्छ भर्खर–भर्खर आफ्ना गाउँहरूलाई खुला दिसामुक्त क्षेत्र घोषणा गर्नमा गर्व गर्ने हाम्रो देशका ती जीवहरू अझै नियममुक्त प्राणीका रूपमा निर्बाध विचरण गर्न पाएका छन् । कुकुरहरूले पर्दामुक्त क्रीडा आदि गर्न पाएकै छन् । गाउँहरूलाई दिसामुक्त क्षेत्र घोषणा गर्न तल्लीन एनजीओ र सरकारलाई के सुझाव दिन चाहन्छु भने कमसेकम गहनाजस्तो चिल्लो त्यो छ लेनको सडकलाई गोबरमुक्त सडक भनेर घोषणा गर्न सके हुन्थ्यो । नत्र त्यो छ लेनको सडक पनि हाम्रा लागि ‘बोकाको मुखमा कुभिन्डो’ नै हुन के बेर !

Share on Social Media