April 10, 2021

Interdisciplinary Discourse

Forum for KU Academics

स्वास्थ्य चिन्ताले हैरान पार्न सक्छ

– माधव प्र. खतिवडा

महेश (नाम परिवर्तन) लाई १५ वर्ष अघि भााँचिएको दाहिने खुट्टा दुखेको जस्तो लाग्न थाल्यो । नभन्दै त्यही खुट्टाको पैतालामा खिल निस्क्यो र दुखाइ झन् असह्य भयो। दर्द कम गर्न पेनकिलर समेत खानु पर्न थालेपछि उनलाई क्यान्सर भएको शंका लाग्न थाल्यो।  हुँदा हुँदा उनी राती निदाउन छोडे। घरका परिवारले सम्पूर्ण शरीरको जाँच गर्न दिएको सल्लाहले उनलाई झन् तर्सायो किनकि जाँचगर्दा ल्याव रिपोर्टले उनका महत्वपूर्ण अङ्ग एउटै पनि काम नलाग्ने गरी बिग्रिसकेको देखाउँछ भन्ने शंकाले उनको भोक निन्द्रा गायब भएको थियो। बाँच्ने दिन धेरै छैनन् भन्ने विश्वासले गर्दा उनले काममा लत्तो छोड्दै जान थालेका थिए। एकदिन परिवारका सदस्यहरुले उनलाई जवर्जस्ती अस्पताल पुर्‍याए। जाँच गर्दा उनका सम्पूर्ण अङ्ग स्वस्थ्य रहेको पाइयो । महेशलाई तत्काल मरिहाल्छु भन्ने लाग्न छोडे पनि कतै ल्याव रिपोर्ट अर्काकोसँग साट्टियो कि भन्ने शंकाले अझै छोडेको छैन।  आफूलाई डरलाग्दो रोग लागेको छ भनी विनाकारण तड्पिने महेश स्वास्थ्य चिन्ता (हेल्थ एन्जाइटी) बाट पिडित व्यक्ति हुन्। यस्तो समस्याबाट पिडित मानिसहरुको सङ्ख्या अहिले विश्वव्यापीरूपमा नै बढिरहेको छ।

स्वास्थ्य चिन्ताबाट सताइएका अधिकांश मानिसहरू आफूभित्र एड्स वा क्यान्सर रोग छिप्पिइसकेको छ भन्ने आशंकाबाट पिडित हुन्छन्। प्रायजसो क्यान्सर रोगको स्याहार सुसार गर्ने आफन्तहरूमा कतै आफूलाई पनि त्यही रोगले गाँज्न त थालेको छैन भन्ने विश्वास मजवुत हुँदै जान्छ। यसको साथसाथै रोगहरूको बारेमा वारम्वार पढ्ने र सुन्नेहरूमा पनि पढे सुनेका रोग आफूमा नै भएको भान हुन थाल्छ र गर्दा गर्दै शंका बानीमा  बदलिन बेर लाग्दैन। इम्पोरियल कलेजका प्राध्यापक टाइरेरका अनुसार पछिल्लो समयमा इन्टरनेटको बढ्दो प्रयोगले पनि यो रोगलाई चर्काउँदै लगेकोछ। मानिसहरू विराम लाग्नासाथ इन्टरनेटमा रोगका लक्षण र उपचार बारेमा खोज्न थाल्छन्।  नेटमा चाहिनेभन्दा पनि नचाहिने कुराहरू बढी हुन्छन्। हेल्पलाइन च्यारिटी अफ एन्जाइटी युकेका ओलिन भन्छन् “तपाँइले कम्प्युटरमा खोकी मात्र भनेर टाइप गर्नु भयो भने पनि एच आई भी एड्सदेखि क्यान्सर सम्मको फेहरिस्त देखा पर्छ जसले मान्छेलाई थप चिन्तित बनाउँछ ।”

डाक्टर,साथीभाइ या आफन्तबाट पटक पटक आश्वसान खोज्नु यो रोग लागेका मान्छेको अर्को विशेषता हो। तर केवल फोस्रो आश्वसानले कुनै काम गर्दैन। ओलिन भन्छन्, “मान्छेहरू आफ्नो मस्तिष्कमा एैजेरु पलायो भन्ने चिन्ताले  त्रस्त हुन्छन्।” उनीहरू अस्पताल गएर टाउकाको स्क्यानिङ  जाँच गर्दिन अनुरोध गर्छन्। जाँच गरेर डाक्टरले तपाँइको मस्तिष्कमा एैजेरु सैंजेरु केही पनि छैन भने पनि उनीहरूलाई कतै स्क्यानिङ गर्ने मेशिन नै बिग्रेको पो थियो कि? एैजेरु सानो भएर डाक्टरले नै देख्न पो सकेन कि ? रिपोर्ट जाँच गर्दा डाक्टरले देख्नै पो छुटायो कि भन्ने तर्कनाले पिरोलिइरहन्छन्। उनीहरू बारम्बार फोन गर्छन र मलाई कतै क्यान्सर त भइहालेको छैन नि हगि ? भन्दै आश्वसान खोज्छन्।  ओलिन थप प्रष्ट पार्छन्,  “हामीलाई थाहा छ आश्वसानले काम गर्ने केही समय मात्र हो। पुनः चिन्ताले गाँज्न बेरै लाग्दैन।”

पहिला पहिला हाइपोकोन्ड्रीया भनेर चिनिने स्वास्थ्य चिन्ताको आम समस्यालाई गभ्भीरतापूर्वक नलिई  ठट्टा मजाकको विषय बनाउनु पनि हो। अरुले जिस्क्याए पनि, उडाए पनि पिडित व्यक्तिको मनमा मन्द मन्द मडारिने चिन्ताले उसलाई भित्र भित्र खोक्रो बनाइरहेको हुन्छ। मरिहाल्छु भन्ने तर्कनाले जीवनका राम–रमिता खुशीयाली फिका तुल्याउनाले पिडित व्यक्तिको जीवन नारकिय बन्न थाल्छ।

त्यसै गरी गार्डियन पत्रिकाको एक लेखमा लेखिका एमाईन स्यानर मार्कको भनाई उल्लेख गर्दै लेख्छिन्,  “स्वास्थ्य चिन्ताले सताएपछि जीवन त्रासदीपूर्ण बन्छ। मृत्यु आफ्नै सङघारमा पिङ्ग खेलिरहेको देखेपछि अरु कुरा सोच्नै सकिन्न। काम दाम र सामाजिक सम्वन्ध  चौपट् बन्छ।”  टाइरेरका अनुसार संसारभरि १% मानिसहरू यो रोगबाट पीडित छन् भने केवल १०% ले मात्र उपचार पाएका छन्। पीडित हुनेको सङ्ख्या सालिन्ने वढ्दोछ ।

अध्ययनहरूले देखाए अनुसार संज्ञानात्मक व्यवहारिक थेरापी यो रोगको उपचारमा लाभदायी हुन सक्छ। यस उपचार पद्धतिले मान्छेको सोचाइको शैली रुपान्तरण मार्फत व्यवहार परिवर्तन  गर्ने लक्ष्य राख्ने हुनाले स्वास्थ्य चिन्ताको उपचारमा यो विधि अचुक हुनसक्छ। यस पद्धति अन्तर्गत टाउको दुखाइलाई मष्तिस्कमा ऐंजेरु पलाएर हो भनी ठान्ने मान्छेहरूलाई त्यसदिन विहान टाउको दुख्दै उठ्नेहरूको सङख्या कति होला भनी कल्पना गर्न लगाइन्छ।  उनीहरूले  जलविनियोज,रुघा, माइग्रेन, थकान, अत्याधिक रक्सी या कफी सेवनजस्ता टाउको दुखाइका सम्भाव्य कारणहरूलाई वृत्त चित्रमा उतार्छन्।  चित्रले मष्तिस्कमा ऐंजेरु पलाएर टाउको दुख्ने मान्छेहरूको प्रतिशत नगण्य देखाउँछ। यसरी चिन्ताको समस्या भएका मान्छेहरूले  प्रत्येक लक्षणको निदान घातक नै हुन्छ भन्ने होइन रहेछ भन्ने स्वयम् महशुश गर्दै जान्छन् र बिस्तारै यस समस्यालाई हेर्ने ढङ्गमा परिवर्तन आउन सक्छ।

तर प्राय मानिसहरू यस्तो लक्षण एक मनोवैज्ञानिक समस्याको उपज हो भन्ने कुरा मान्न तयार नहुने हुनाले मनोचिकित्सक या मनोपरामर्शकर्ता कहाँ जाने कु्रा ठाडै अस्वीकार गर्छन्। उनीहरू आफू पिडित भइरहेको समस्या मनोवैज्ञानिक नभई शारीरिक हो भन्ने कुरामा विश्वस्त हुन्छन्। त्यसकारण स्वास्थ्य चिन्ताको उपचारमा समस्यालाई समाधान गर्ने संज्ञानात्मक र व्यवहारिक सहयोगको तालिम पाएका स्वास्थ्यकर्मी र मनोपरामर्शकर्ताको भूमिका अब्बल हुनसक्छ।  प्राध्यापक टाइरेरका अनुसार संज्ञानात्मक व्यवहारिक थेरापीपछि आफ्नो जीवन  कसरी कायापलट भयो भनी सबिस्तार पत्र लेख्ने विरामीहरु थुप्रै छन्।  हृदयाघात हुन्छ  भनी एक वर्षसम्म घरबाट बाहिर ननिस्कने मानिसहरू छुट्टी मनाउन गएका छन्।

त्यसैले मान्छेलाई भित्र भित्रै सिध्याउने स्वास्थ्य चिन्तालाई कम नआँकी र रेला ठट्टाको विषय नबनाई समयमै उचित ध्यान दिनुपर्छ। यदि संज्ञानात्मक व्यवहारिक मनोविमर्शका लागि आवश्यक जनशक्ति र  दक्षता  बढाउन सके अस्पतालमा हुने अनावश्यक जाँच पड्ताल र भर्नाको खर्चलाई न्यूनीकरण गर्न सकिने थियो र महेश र ऊजस्ता कैयौं मानिसहरूको जीवन थप नारकिय बन्नबाट बँच्ने थियो ।

 

                                                                            (लेखक काठमाण्डौ विश्वविद्यालयमा मनोपरामर्शकर्ता हुनुहुन्छ)

Share on Social Media