जीवनको विश्वविद्यालयका कर्मयोगी तेजबहादुर पुरी

– दामोदर घिमिरे

कुनैपनि समाजमा विविध जात, धर्म, भाषा संस्कृति र रहनसहन भएजस्तै सो समाज संचालनको लागि वहुसंख्यक सज्जन र केही दुर्जन व्यक्तिहरू हुने गर्दछन्। आजका कुशल विद्यार्थीहरू भोलिका दक्ष डाक्टर, प्राध्यापक र व्यवसायी हुने भए जस्तै आफू लगायत आफ्नो समाजको आवश्यकता पूरा गर्न सानो उद्यम वा व्यवसाय गरेर बसेको व्यत्तिको पहिचान नेताको तुलनामा कम देखिएला, तर यथार्थमा महत्वपूर्ण अर्थ राख्दछ। कोरिया, जापान चीन अहिलेको अवस्थामा पुग्नुमा त्यस देशका नेता र जनता इमानदार अनि परिश्रमी भएकैले हो। कुनै पनि देशको भौगोलिक वनावट, त्यहॉ उत्पादन हुने वस्तु तथा बोलिने भाषाले त्यस क्षेत्रको प्रतिनिधित्व गर्दछ। जुनसुकै जनावर र पंछिका बच्चालाई जन्मने बित्तिकै हिड्न वा उड्न सिकाउ‘नु पर्दैन, तर तिनले ऑट र प्रयास भने गर्नै पर्दछ। दृढ विश्वास र प्रतिवद्व भएर लागि परेमा जस्तोसुकै कठिन कार्यहरू पनि सम्पन्न हुने अर्थात् सामाजिक र राष्ट्रिय भावमा समर्पित भएर गरिएका जुनसुकै कामले सफलता पाएको इतिहास यत्रतत्र छ। यस लेखमा आफूलाई सुम्पिएका प्रशासनिकदेखि परीक्षा संचालनको कार्यमा पोख्त तेजबहादुर पुरीका बारेमा चर्चा गर्न लागिएको छ।

२०३२ असार ६ गते पिता भोजराज र माता दोलमाया पुरीको कोखबाट रामेछाप जिल्लाको साविक सुनारपानी –१ मा जन्मिएका तेजबहादुरका १ भाई र ५ दिदीबहिनी छन्। घरबाट ४५ मिनेटको दुरीमा रहेको श्री भैरवी नि.मा.वि.बाट ६ वर्षको उमेरमा शिक्षारम्भ गरेका पुरी २०४७ सम्म उक्त स्कुलमा अध्ययन गरेपश्चात २०४८ सालबाट १ घण्टा टाढाको श्री महेन्द्रोदय मा. वि. मन्थलीमा भर्ना भई अध्ययन पश्चात २०५० सालमा एस एल सी को परीक्षामा अनुतिर्ण भएसंगै किम्कर्तव्य विमुढ भएर २०५१ भाद्रमा पहिलो पटक काठमाडौं आए।

‘खाने मुखलाई जुँगाले छेक्दैन, अनि विवाह गर्न जात र उमेरले रोक्दैन’ भनिएझैं कामको खोजीमा काठमाडौं छिरेका पुरी ३ महिनापछि डा.सुरेन्द्रराज काफ्ले मार्फत् काठमाडौं विश्वविद्यालयको केन्द्रीय कार्यालय, लाजिम्पाट काठमाडौंमा २०५१ कार्तिक ३ बाट कार्यालय सहयोगीको रूपमा प्रवेश गरी २०५५ मंसिर १ गते स्थायी भए।  सामान्यतयाः  कुनैपनि कर्मचारीको एक स्थानबाट अर्को स्थानमा सरुवा हुन्छ तर पुरीले काम शुरू गरेको ३ महिनामै काठमाडौं विश्वविद्यालयको केन्द्रीय कार्यालय धुलिखेलमा सरैसंगै उनको पनि स्वतः कार्यस्थान धुलिखेल हुनपुग्यो। पहाडको केटो कामकाजमा जेठो भनिएझैं सेवा प्रवेशसंगै अफिसमा आइपरेका जुनसुकै काम गर्ने आदत भएकैले होला उनले कुनैपनि कामलाई सानो वा भरेभोलि नभनी सम्पन्न गर्ने क्रममा काठमाडौं विश्वविद्यालयका संस्थापक उपकुलपति डा.सुरेशराज शर्मा, रजिष्ट्रार डा.सीताराम अधिकारी, स्कुल अफ इन्जिनियरिङ्गका निर्देशक सुरेशकुमार पुडासैनीको मातहतमा रहेर काम गर्ने मौका मिल्यो ।

आर्मी पुलिशमा जस्तै शुरूमा तल्लो तहका सहकर्मीसंग तालिम कार्य सिकेका व्यक्ति नै २-४ महिनादेखि १-२ वर्षमा आफ्नो विभागीय प्रमुख भएको ३-४ वटा परिवेश खेपेका पुरीको कार्यक्षमता वा कार्यदक्षता उच्च अनि प्रशंसनीय रहेको सोहि विश्वविद्यालयमा वि.इ. देखि अध्ययन गरेर हाल प्रोफेसर भएका डा. विवेक बरालले वताउनु भएको छ।   २०५३ सालदेखि २०७० सालसम्म स्कुल अफ इन्जिनियरिङ्गको प्रशासनमा रहेर काम गर्दा सो संकायका प्रथम डीन वि.एल अनन्तरामु, डा.भद्रमान तुलाधर, प्रो. दिनेश चापागाई, डा. भोला थापाको अविभावकत्व पाएका पुरीले सोही समयमा सो स्कुलको प्रशासकका रूपमा प्रकाशचन्द्र खड्का,  गोपिकृष्ण प्रसाई , यशु न्हसिजु , सुरेन्द्र के.सी. लगाएतलाई ४ देखि ११ महिनासम्म काम सिकाउँने मौका मिलेछ।

सरकारी काम कहिले जाला घाम भन्ने उत्तिको विपरित तोकिएका काम सदैब दत्तचित्तले पूरा गर्ने तेजबहादुरलाई जीवन के हो भनेर सोधिएको प्रश्नमा सुख र दुःखको नाटकीय काहानीलाई जीवन ठान्ने पुरीले बिना उतारचढाव बाँकी जीवन बिताउन पाइयोस भन्ने कामना राखेका छन्। अध्ययनमा अब्बल विद्यार्थीको मिलनसार साथी कमजोर विद्यार्थी नहुने भएजस्तै स्कुल अफ इन्जिनियरिङ्गमा प्रशासन तथा परीक्षा संचालन सम्वन्धी १७ वर्ष काम गर्दा सिकेको सिप र विश्वासनीयताकै कारण हुनसक्छ २०७० सालबाट विश्वविद्यालयको प.नि.का.मा कार्यरत पुरीको कार्यशैली, गोप्यता र सहनशीलता व्याचलर उतीर्ण गरी ५-७ वर्ष काम गरेका शाखा अधिकृतको भन्दा कम छैन।

२०६८ सालमा बुबाको स्वर्गारोहण हुँदा साह्रैनै दुःख लागेको बताउने पुरी आफ्नो जागीर स्थायी हुँदा आफूभन्दा पनि धेरै आफ्ना बुबा खुशी हुनु भएको  दिनलाई सुखको क्षण मानेका छन्।

कुनै पनि निकायले संचालन गर्ने परीक्षा, डेस्क-डेस्कमा रोल न. लेखेर टास्ने पुरानो पद्धति भन्दा हृवाइटबोर्ड वा ढोकामै परीक्षार्थीको सीट प्लान टाँसगरी सोही बमोजिम ५०० परीक्षार्थी हुँदा स्कुल अफ साइन्स र इन्जिनियरिङ्गमा वार्षिक ४ पटक हुने आन्तरिक तथा अन्तिम परीक्षा, पुरीकै पहलमा २०५५ सालमा शुरू गरेको पद्धति हालसम्म निरन्तर रहेकोमा आफूलाई गर्ब लागेको कुरा यस स्तम्भकारसंगको भेटमा व्यक्त भएको थियो।धुलिखेल हाता, स्कुल अफ इन्जिनियरिङ्गको पहिलो दशकमा कार्यरत रहँदाका फ्याकल्टी एवं सहकर्मीहरु भूपेन्द्रविमल क्षेत्री, आनन्दराज खनाल, प्रियराज चालिसे, मदन कार्की, राजेश शर्मा, नर्वेजियन नागरिक काई वेद्रिङ्गदाश सहित रमेश बजगाई, केशव खड्का लगायत सवैलाई सम्झँदा पुरीको मन प्रफुल्लित हुन्छ।

सरसफाई गर्ने दिदीवहिनी दाजुभाईदेखि विश्वविद्यालयमा अध्यापन गर्ने अधिकांश प्रोफेसरहरूले उनलाई नामले भन्दापनि थरबाटै चिन्ने, बोलाउने गरेसँगै गोर्खालीको पहिचान खुकुरी र अढाई दशकसम्म एकै पदमा कार्यरत पुरीको कार्यकौशलता भनौं वा इमान्दारीपन अतुलनीय देखिन्छ। स्कुल अफ इन्जिनियरिङ्गको प्रशासनमा ३ वर्ष सहित काठमाडौं विश्वविद्यालयमा १३ वर्ष कामगरी वि.स.२०६६ श्रावणबाट पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रशासकका रूपमा कार्यरत प्रकाशचन्द्र खड्कालाई  तेजवहादुर पुरी कस्तो व्यक्ति हुन भनेर मिति २०७७ भाद्र १ गते फोनमा सोधिएको प्रश्नमा  उनी तोकिएको जिम्वेवारी समयमै र दक्षतापूर्ण तरिकाले सम्पन्न गर्ने, राम्रो अक्षर लेख्ने, सधै हँसमुख रहने, विद्यार्थी, शिक्षक र सहकर्मीसँग सद्भावपूर्ण व्यवहार गर्ने, परीक्षाको सिटप्लानमा पोख्त अनि पत्रलेखनको व्यहोरा अति राम्रो भएका कर्मयोगी हुन् भन्नुभएको छ ।

निश्कर्षमा भन्नु पर्दा गाउँघरमा हुर्केर दुःख कष्ट खेप्दै मुठ्ठीबाट मानो र मानोवाट पाथीको शैलीमा आफ्नो कार्यशैलीमा निख्खरपन ल्याउने तेजबहादुर हाम्रा प्रेरणाका स्रोत हुन्। काम गर्नलाई प्रमाणपत्र नै चाहिन्छ वा अमुक पदनै ओगट्नु पर्छ अथवा पद ठूलो कि इच्छाशत्ति ठूलो भन्ने कुरा छलफलका विषय हुन्। व्याचलर वा मास्टर्स पास गरेरपनि निबेदन, मेमो लेख्न वा मागफारम, भौचर भर्न नआउने तर स्थानीय वा जातीय ध्वाँस दिनुको सट्टा सिप, परिश्रम र इमान्दारीताको कदर गर्दै तेजबहादुर पुरीले जस्तै आफ्नै देशमा रहेर तन, मन, बचन र कर्मले तोकिएका जिम्वेवारी पूरा गर्दै निःस्वार्थ भावले आफू आवद्व संस्था वा व्यवसाय समाज अनि राष्ट्रको सेवामा सबैले जुट्नु पर्दछ।

[लेखक काठमाडौँ विश्वविद्यालय केन्द्रीय प्रशासनका कर्मचारी हुनुहुन्छ।]

Share on Social Media